पुस्तक हरु अलि कम भएको हुदा छिटो किनिहाल्न अनुरोध छ। . नया कक्षा सुरु भएको छ कृपया भर्ना भैदिनु होला .
blog-details

ओकस : फेरिँदो भूराजनीतिको अमेरिकी अस्त्र

By / 2021-09-24

म्याकिन्डरले भनेको शक्ति र स्रोतको विश्वकेन्द्र त्यस बेला युरेसिया, मध्यएसिया र पूर्वी युरोपबीचको भूगोल थियो । त्यसको अर्थ युरेसिया र मध्यएसियामाथि शासन गर्नेले विश्वकै नेतृत्व गर्छ भन्ने हो । प्रशान्त र आन्ध्र महासागरबीचको भूभाग त्यस बेला सामरिक दृष्टिकोणमा महत्त्वपूर्ण मानिन्थ्यो । यी क्षेत्रसहित पूर्वी युरोप त्यसबेला रुसको जारशाहीको नियन्त्रणमा थियो । रुसलाई ती भूगोलबाट विस्थापित गर्न सकेमा विश्व महाशक्ति बनिन्छ भन्ने धारणा पश्चिमी युरोपका भूरणनीतिकारको थियो । अक्सफोर्ड–दीक्षित म्याकिन्डरको आशय सायद रुसी साम्राज्यको अन्त्य थियो ।

प्रथम (सन् १९१४–१८) र द्वितीय (१९३९–४५) विश्वयुद्धले विश्व मानचित्रमा महत्त्वपूर्ण फेरबदल ल्याए । र, वैश्विक राजनीतिक व्यवस्था र सम्बन्धमा ठूलो बदलाव आयो । शीतयुद्धकालीन विश्व (१९४६–१९९०) मा अमेरिका र सोभियत रुसले नेतृत्व गरेको विचारधाराबाट निर्देशित विश्व थियो । त्यसमा भौगोलिक विस्तारभन्दा विचारद्वारा गठबन्धन निर्माण र त्यसमार्फत विश्व नियन्त्रणको चाहना देखिन्थ्यो ।

सन् १९८९ मा बर्लिनको फलामे पर्खाल ढलेपछि र १९९१ मा सोभियत संघको विघटन भएपछि अमेरिका विश्वको एकल महाशक्ति भयो । २००८ को आर्थिक मन्दी र संकटसँगै विश्व पुँजीवादी व्यवस्थामा संकट आएपछि विश्व बहुध्रुवमा रूपान्तरित भयो । अमेरिका महाशक्तिका रूपमा त कायमै छ, तर विश्वले अब अमेरिकी ध्रुवलाई चुनौती दिन सक्ने सामर्थ्य विकास गरिसकेको छ, जसको नेतृत्व नेपालको उत्तरी छिमेक चीनले गरेको छ ।